अनावश्यक कर्मचारी भर्ती गरिएको छैन: वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमले अनावश्यक कर्मचारी भर्ती नगरिएको दाबी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो कर्मचारीको सम्बन्धमा संसदमा उठेको सवालको खण्डन गरेको हो ।

निगमको कर्मचारी सङ्ख्या र ग्राउन्ड ह्याण्डलिङको सम्बन्धमा प्रश्न उठाउँदै प्रतिनिधि सभामा सांसद योगेश भट्टराइलागायतले अनावश्यक कर्मचारी भर्ती गरेर निगमलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको भन्ने आरोप लगाएका थिए । यसै भनाइप्रति आपत्ति जनाउँदै निगमले आइतबार खण्डन गर्दै विज्ञप्ति नै जारी गरेको हो ।

निगमले हाल राष्ट्रिय अन्तर्राष्ट्रिय उडान, ग्राउन्ड ह्याण्डलिङ सबै क्षेत्रमा गरी स्थायी, अस्थायी, करार र दैनिक ज्यालादारी गरी कूल १३ सय ४१ जना कर्मचारी रहेको जानकारी दिएको छ ।

निगमले हाल १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक (डोमेस्टिक) गन्तव्यमा हप्ताको २५ वटा उडान भर्दै आएको छ ।

निगमको बेस स्टेसन बाहेक अन्तर्राष्ट्रिय र आन्तरिक स्टेसनहरूमा आवश्यकता अनुसार २ वा ३ जना मात्र कर्मचारी राखी सेवा सञ्चालन गरिरहेको निगमले जनाएको छ ।

कूल कर्मचारी मध्ये ८४० जना स्थायी कर्मचारी रहेकोमा करार र ज्यालादारीमा ५०१ जना रहेको निगमले जनाएको छ ।