यूएईद्वारा नेपालबाट घरेलु कामदार लैजाने प्रस्ताव

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालबाट घरेलु कामदार लैजाने प्रस्ताव गरेको छ । काठमाडौँमा सम्पन्न नेपाल र यूएईको संयुक्त कार्य समितिको बैठकमा घरेलु कामदार लैजाने प्रस्ताव राखेको हो ।

यूएईले विगतदेखि नै नेपालबाट घरेलु कामदार लैजाने प्रस्ताव राख्दै आएको छ । तर, नेपालमा घरेलु कामदार पठाउन प्रतिबन्ध छ । जसले गर्दा सरकारले घरेलु कामदार पठाउने विषयमा निर्णय गर्न सकेको छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता कविराज उप्रेतीले यूएईको तर्फबाट घरेलु कामदार पठाउने प्रस्ताव राखिएको बताए ।

बैठकमा यूएईका सहायक उपसचिव अब्दुल्ला अल्नुइमीले नेपालबाट घरेलु कामदार लैजान यूएई इच्छुक रहेको बताएका थिए । त्यसका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

नेपालले उक्त प्रस्तावमा आवश्यक छलफल गर्ने प्रतिक्रिया दिएको थियो । यूएईले घरेलु कामदार लैजाने र त्यसका लागि आवश्यक पर्ने सुरक्षा मिलाउने प्रतिबद्धता जनाउँदै आएको छ ।

घरेलु कामदारलाई नेपालमा आवश्यक पर्ने भाषा र सीप सम्बन्धी तालिम समेत दिने यूएइले बताउँदै आएको छ ।