काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख खाद्यबाली धान, मकै र गहुँका लागि स्थान विशेष मलखाद प्रविधि सार्वजनिक गरेको छ ।
राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले तयार पारेको सो प्रविधि कृषिमन्त्री डा. वेदुराम भुसालले सार्वजनिक गर्नुभएको हो ।
नयाँ मलखादको सिफारिस गर्दा माटोको उर्वरताको अवस्था, सिँचाइको उपलब्धता र बाली उत्पादनको सम्भावनालाई ध्यान राखिएको छ ।
राष्ट्रिय कृषि अनुसन्धान प्रणालीमा संलग्न माटो वैज्ञानिकहरूले विभिन्न छलफल तथा अनुसन्धानबाट सो प्रविधि तयार गरिएको केन्द्रका प्रमुख शिवप्रसाद विष्टले बताउनुभयो ।
हाल सघन बाली प्रणाली, उच्च पोषक तत्त्व चाहिने उन्नत प्रजातिहरू र अन्य कारणले माटोको उर्वरा शक्तिमा छिटो परिवर्तन हुने भएकाले माटोबाट पूर्ति हुने पोषक तत्त्व, बालीको उत्पादन लक्ष्य र बाली काट्ने समयमा बालीले लिएको पोषक तत्त्वको मात्रालाई ध्यानमा राखी मलखाद सिफारिस अद्यावधिक गर्दै जानुपर्ने देखिएको उहाँले बताउनुभयो ।
नेपालमा सन् १९७६ मा पहिलो पटक कृषि विभाग अन्तर्गतको माटो विज्ञान तथा कृषि रसायन विज्ञान महाशाखाद्वारा विभिन्न बालीका लागि मलखादको मात्रा सिफारिस गरिएको थियो ।
सो सिफारिसमा माटोको जैविक तथा भौतिक अवस्था र कृषि व्यवस्थापन (बालीका प्रजाति) को अवधारणामा आधारित नभएर सम्पूर्ण देशलाई एकरूपता मानी सिफारिस गरिएका मलखादका मात्राहरू हालसम्म किसानले प्रयोग गरिरहेका छन् ।
केन्द्रले विभिन्न स्थानमा गरेका मल परीक्षणबाट उपलब्ध सबै तथ्याङ्कको समीक्षा गर्न र तथ्याङ्कमा कमी भएका क्षेत्रमा प्रमाणीकरण परीक्षण सञ्चालन गर्न एक मलखाद सिफारिस समिति गठन गरेको थियो ।
सो समितिले स्थानविशेषका लागि मलखाद सिफारिस गर्न अन्य देशका विभिन्न कृषि क्षेत्रमा मलखाद सिफारिसका लागि खेतबारीमा गरिएका मलखाद परीक्षणका नतिजाहरूलाई अध्ययन गरी प्रतिवेदन तयार गरिएको हो ।
धान बालीका लागि पूर्वी तराईका झापा, मोरङ र सुनसरी, मध्य तराईका पर्सादेखि सप्तरीसम्म, पश्चिम तराईको रुपन्देही, कपिलवस्तु र परासी, सुदूरपश्चिमको बाँकेदेखि कञ्चनपुरसँगै भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुर तथा पहाडी क्षेत्र र वर्णशङ्कर जातका लागि सबै क्षेत्रमा विभिन्न मापदण्ड निर्धारण गरिएको छ ।