अरुण भ्याली हाइड्रोपावरको नाफामा आकर्षक वृद्धि

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफामा आकर्षक वृद्धि भएको छ । यस अवधिमा खुद नाफा ५७९९.८७ प्रतिशतले बढेर ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । १ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको र खर्च घटेको कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो ।

यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २२८.२४७ प्रतिशतले बढेर १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यसअवधिमा वित्तीय खर्च २१ करोड ८३ लाख रुपैयाँबाट घटेर १० करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म यसको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा छ ।