काठमाडौं । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा पाल्पा निवासी डा. ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
यसअघि प्रतिष्ठानको उपकुलपतिका लागि डा ज्ञवालीसहित सर्लाहीका डा हरिबहादुर खड्का र काठमाडौँ निवासी डा सुजन मानन्धरको नाम सिफारिस भएको थियो ।
डा ज्ञवालीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ महाराजगञ्ज मेडिकल क्याम्पस ‘एशोसिएट प्रोफेसर’ समेत हुनुहुन्छ । डा. ज्ञवालीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिव भएर काम गरिसक्नुभएको छ ।
चारवर्षे कार्यकाल पूरा गरी प्रतिष्ठानको उपकुलपति डा. विश्वराज जोशी बिदा हुनुभएपछि गत साउन १५ गतेदेखि सो पद रिक्त थियो । यसैगरी आजैको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले पठाएका तीन जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त सचिव पदमा बिदुर खनाललाई जिम्मेवारी दिएको छ । यस्तै प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, प्रदेश लोकसेवा आयोगको सचिवमा तुलसीनाथ गौतमलाई जिम्मेवारी दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।