काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका उप विदेशमन्त्री रिचार्ड आर वर्मा आज नेपाल आउन लागेका छन् ।
उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अोली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकास्थित विदेश मन्त्रालयका अनुसार नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।
आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा उनले छलफल गर्नेछन् ।
नेपालको एक दिने भ्रमण सकाएर उनी शनिवार भारतका लागि प्रस्थान गर्ने बताइएको छ । उनी भारतमा अगस्त २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।