काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिवार (साउन १७ र १८) लिएको चिकित्सकको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ ।
काउन्सिलका अनुसार यसपटक ९१.४५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण भएको प्रतिशत सम्भवतः अहिलेसम्मकै बढी हो ।
काउन्सिलका अनुसार कुल ९७० जनाले फारम भरे पनि ९६६ जना सहभागी थिए । ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका छन् । ६ जनाको नतिजा विथहेल्डमा राखिएको छ ।
यसपटक परीक्षामा कुल ४० विषयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । यसपटक फ्रेस विद्यार्थीहरू आएको र डिएमएमसीएचको तयारीमा रहेका पनि सहभागी भएकोले नतिजा राम्रो आएको काउन्सिल जनाएको छ ।
परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा दुई दिन दुई सिफ्टका दरले सञ्चालन गरिएको थियो ।