१८ देशमा राजदूत सिफारिस, भारतमा शंकरकै निरन्तरता

काठमाडौं । मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूतमा भने डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ ।

मन्त्रिपरिषद बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिनालाई राजदुत सिफारिस गरेको छ ।

यस्तै बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका चीन, रुस, अष्ट्रेलिया लगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।

बैठकले चीनका राजदुत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

माओवादी केन्द्र निकटका श्रेष्ठ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका थिए । यसअघि रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए ।