फ्युल स्टेसन तथा परिवार आवास गृहको समुद्‍घाटन

काठमाडौं । श्री सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँ महानगरपालिका वडा नं.१३ स्थित वाहिटी, सितापाइलामा निर्माण सम्पन्न भएको रिपुमर्दिनी पेट्रोल स्टेसन आज २०८१ श्रावण ४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले समुद्‍घाटन गर्नुभयो ।

यसै गरी आजै प्रधान सेनापतिले काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहको समेत समुद्‍घाटन गर्नु भएको छ ।

पचास हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउने छन् ।

नेपाली सेना, कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।

नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्य सहित उक्त फ्युल स्टेसनहरू सञ्चालनमा रहेका छन् ।

समुद्‍घाटन समारोहहरूमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय निकायका पदाधिकारीहरू, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिहरूको उपस्थिति थियो ।