आजदेखि मनसुनको सकृयतामा कमी आउने

 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमवारदेखि न्यून चापिय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आउने बताएको छ ।

महाशाखाले सोमवारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

तसर्थ वर्षाको कारण भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।