एसईईको नतिजा आज सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार आज ४ बजेभित्र नतिजा सार्वजनिक हुने छ । बोर्डले सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक आवश्यक पर्छ । आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।

सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक नपाएमा प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुन्छ । ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाइने छैन । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।