आगामी असार २० देखि एकीकृत कारोबार सुरु गर्दै धौलागिरि लघुवित्त र खप्तड लघुवित्त

काठमाडौँ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २० देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले मंगलबार धौलागिरि लघुवित्त र खप्तड लघुवित्त एकआपसमा गाभिई धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड कायम हुने सम्बन्धी सर्कुलर सार्वजनिक गरेको हो ।

राष्ट्र बैंक सञ्चालक समितिको निर्णयानुसार इजाजतपत्रप्राप्त संस्थाहरु धोलागिरि र खप्तड एकआपसमा गाभिई साबिकका संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएको छ ।

दुबै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रुपमा असार २० गते बुधबारदेखि धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा प्राप्ति, विनियमावली, २०७३ को विनियम ११ को उपविनियम ७ बमोजिम प्रक्रिया पूरा भएको राष्ट्र बैंकले जनाएको छ ।