प्रधानमन्त्री प्रचण्डले बोलाए सत्ता साझेदार १०दलको बैठक

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसदसमक्ष पेस हुने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार १० दलको बैठक बोलाएका छन्।

नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्न सत्ता समर्थक १० दललाई बोलाइएको स्रोतले जनाएको छ । बैठक आज दिउँसो साढे दुई बजे सिंहदरबारमा बस्ने बुझिएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी दललाई बैठकमा बोलाइएको जानकारी प्राप्त भएको छ। त्यस्तै नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोचा, प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टीलाई पनि नीति तथा कार्यक्रममाथि सुझाव दिन बोलाइएको छ

सत्तारूढ दलहरूको सुझावलाई समेटेर नीति कार्यक्रम परिमार्जन र समृद्ध तुल्याइने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आज सत्ता साझेदार दलसँग मात्रै छलफल तय भएकाले प्रतिपक्षी दललाई भने बैठकमा नबोलाइएको स्रोतले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसदसमक्ष पेस गर्दैछन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।