ओप्पोले नेपालमा सार्वजनिक गर्‍यो रेनो १६ सिरिज

काठमाडौँ । ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ। सिरिज अन्तर्गत ओप्पो रेनो १६ र रेनो १६ एफ बजारमा ल्याइएको हो। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा प्रस्तुत गर्दै आयोजित भव्य फेसन शोमार्फत यी स्मार्टफोन सार्वजनिक गरिएका हुन्।

सार्वजनिक कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रतिमा अधिकारी र महिला मोटो भ्लगर सुरक्षा केसीले रेनो १६ सिरिजका विभिन्न विशेषता र प्रयोगका अनुभव प्रस्तुत गरेका थिए। रेनो १६ सिरिजसँगै ओप्पोले ओप्पो बबल पनि सार्वजनिक गरेको छ।

यो चुम्बकीय सहायक उपकरण हो, जसले पछाडिको क्यामेराको पूर्वावलोकन स्क्रिन तथा रिमोट शटरका रूपमा काम गर्नुका साथै डिस्प्लेमा व्यक्तिगत सामग्री राख्न सकिने सुविधा प्रदान गर्छ। १५ हजार ९ सय ९९ रुपैयाँ खुद्रा मूल्य रहेको ओप्पो बबललाई प्रवर्धन अवधिभर ९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

रेनो १६ सिरिजमा ओप्पोको थ्रीडी पप प्लानेट डिजाइन प्रयोग गरिएको छ। यसको पप ह्वाइट भेरियन्टमा उद्योगकै पहिलो होलोभर्स थ्रीडी प्रविधि समावेश छ। रेनो १६ मा ६.३२ इन्च र रेनो १६ एफमा ६.५७ इन्चको डिस्प्ले रहेको छ।

फोटोग्राफीका लागि दुवै मोडलमा १०० डिग्रीको वाइड एंगलसहितको ५० मेगापिक्सेल अल्ट्रा वाइड सेल्फी क्यामेरा र अप्टिकल इमेज स्टेबलाइजेसनसहितको ट्रिपल रियर क्यामेरा सेटअप छ।

कलरओएस १६ मा सञ्चालन हुने यस सिरिजमा एआई स्न्याप की र एआई माइन्ड स्पेस लगायतका फिचर छन्। रेनो १६ मा ६ हजार ७ सय एमएएच र रेनो १६ एफमा ७ हजार एमएएच ब्याट्री छ भने दुवैले ८० वाट फास्ट चार्जिङ सपोर्ट गर्छन्।

नेपालमा रेनो १६ ५जीको मूल्य रु. १,०९,९९९ र रेनो १६ एफ ५जीको मूल्य रु. ८९,९९९ तोकिएको छ। पहिलो ५०० जना ग्राहकले खरिदमा ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।