विराटनगर भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । गएको भदौ २४ गतेको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट ध्वस्त बनेको विराटनगरको भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ ।

झन्डै १० महिनापछि स्टोर खुलेकै दिन ठूलो सङ्ख्यामा ग्राहकको घुइँचो लागेको थियो । भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङका अनुसार यो कम्पनीको ध्वस्त भएका शाखामध्ये पुनः खुल्ने आठौँ स्टोर हो ।

अब झापाको बिर्तामोड शाखा खुल्ने तयारीमा छ । गुरुङले कर्मचारी र मजदुरहरूको निरन्तर मेहनतले स्टोर पुनः उभिएको बताउनुभयो । आन्दोलनका क्रममा भाटभटेनीका २८ शाखामध्ये १२ वटा आगजनीबाट पूर्ण नष्ट भएका थिए भने ९ वटामा क्षति पुगेको थियो । कम्पनीका अनुसार त्यसबाट झन्डै साढे १० अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको थियो ।

अत्यधिक क्षति हुँदाहुँदै पनि कम्पनीले कुनै कर्मचारी कटौती नगरी सबै शाखा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो । जसअनुसार विराटनगरमा नयाँ डिजाइन र आधुनिक सुरक्षा प्रणालीसहित पुनर्निर्माण सम्पन्न भएको भाटभटेनीले जनाएको छ ।