दाउन्ने एग्रो फार्म लिमिटेडले एक वर्षमा ११ करोडको अण्डा उत्पादन

चितवन । आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले एक वर्षमा रु ११ करोड ११ लाख ४२ हजारको अण्डा उत्पादन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरेर बिक्री गरेको हो ।

कम्पनीको साधारण सभामा कम्पनीका अध्यक्ष विनोद पोखरेलले दैनिक एक हजार चार सय ५० पेटी अण्डा उत्पादन हुँदै आएको बताए ।

कम्पनीले नवलपरासीको (सुस्ता–त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा नं.३ को सर्दीमा करिब ११ बिघामा फैलिएको फार्ममा कुखुरापालन गर्दै आएको छ । फार्ममा अहिले चार लाख कुखुरा रहेका छन् । निकट भविष्यमै छ लाख कुखुरा पुर्‍याउने लक्ष्य लिइएको अध्यक्ष पोखरेलले बताए।

कम्पनीले गत आर्थिक वर्षमा रु आठ करोड १५ लाख ९० हजार नौ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिशेयर रु १८.३७ आम्दानी गरेको थियो ।

अध्यक्ष पोखरेलले पेश गरेको प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०८०(८१ मा प्रतिशेयर रु ३.६४ आम्दानी गरेको कम्पनीले यसवर्ष प्रतिशेयर आम्दानी बढाएको छ ।

आर्थिक वर्ष २०८०(८१ मा कम्पनीले रु दुई करोड ६३ लाख नाफा गरेको थियो । त्यसवर्ष कम्पनीको चुक्ता पूँजी रु २७ करोड रहेकोमा गत आर्थिक वर्षमा चुक्ता पूँजी बढेर रु ५० करोड पुगेको छ ।

साधारणसभाले कम्पनीको २०८१(८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै विशेष प्रस्तावअन्तर्गत प्रारम्भिक सार्वजनिक आह्वान (आइपिओ) मा जानका लागि सबै कानुनी प्रक्रिया पूरा गरेकोले सो सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।