सुनको मूल्यमा नयाँ रेकर्ड, किन बढेको बढ्यै गर्छ सुनको भाउ ?

काठमाडौं । यो साता विश्व बजारमा सुनको मूल्य बढ्दो क्रममा रहेको छ । ब्यूरो अफ लेबर स्टाटिस्टिक्सको पछिल्लो कन्जुमर प्राइस इन्डेक्स (सीपीआइ) प्रतिवेदनले जुन महिनामा मुद्रास्फीति दबाबमा उल्लेखनीय गिरावट आएकाले त्यसको प्रभाव सुन बजारमा पर्न गएको विश्लेषकहरुले बताएका छन् ।

हाल प्रतिऔंस सुनको मूल्य २४ सय अमेरिकी डलर माथि पुगेको छ । साथै, अमेरिकामा मुद्रास्फीति दबाब कम हुँदै गएको तथ्यांक सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा प्रमुख कमोडिटीहरु कच्चा तेल र सुनको भाउमा वृद्धि भएको हो ।

अमेरिकामा बिहीबार जुन महिनामा मुद्रास्फीति दर कम हुँदै ३ प्रतिशतमा झरेको तथ्यांक सार्वजनिक भएको थियो । अमेरिका विश्वको सबैभन्दा ठूलो तेल मार्केट हो ।

मुद्रास्फीति दर घटेसँगै ब्याजदर कटौतीको सम्भावना झन बढेका कारण कच्चा तेल र सुनको भाउमा सकारात्मक प्रभाव परेको हो ।

बिहीबार बढेर बन्द भएको कच्चा तेलको भाउ शुक्रबार पनि एसियाली बजारमा बढेर कारोबार भइरहेको रोयटर्सले उल्लेख गरेको छ ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार (असार २३ गते) प्रति १० ग्राम १ लाख २४ हजार ६६० रुपैयाँ रहेको मूल्य शुक्रबारसम्म आइपुग्दा हालसम्मकै उच्च प्रति १० ग्राम १ लाख २५ हजार ७७० रुपैयाँ कायम भएको छ । अर्थात, प्रतितोला सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँ पुगेको हो ।

यता, नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ६२० रुपैयाँ रहेको मूल्य शुक्रबारसम्म आइपुग्दा प्रति १० ग्राम १ हजार ६२९ रुपैयाँ कायम भएको छ । चाँदीको भाउ प्रतितोला १९०० रुपैयाँ पुगेको छ ।

करिब एक वर्षयता, लगातारजसो सुनको भाउ बढिरहेको छ । विश्व बजारमै यसको माग बढेको पाइन्छ ।

अझ पछिल्ला महिनाहरुमा चीन लगायतका मुलुकहरुले भारीमात्रा सुन खरिद गरेर सञ्चय गरे । यसले पनि माग बढ्न गएको हो ।

यसैगरी, अन्य लगानीकर्ताहरु पनि सनुतर्फ आकर्षित भएको देख्न सकिन्छ । सञ्चय गर्न सजिलो, लगानीको  सुरक्षित क्षेत्र  भएकाले पनि यसतर्फ लगानीकर्ताको आकर्षण बढेको अनुमान गर्न सकिन्छ ।

विश्व बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि स्वतः बढ्ने गर्छ । किनभने सुन पूरै आयातमा निर्भर छ ।