काठमाडौं । नेपाल र जापान सरकारबीच दुई अर्ब ७३ करोड बराबरको अनुदान सम्झौता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक नियन्त्रण सुविधाहरूको स्तरोन्नति सम्बन्धी परियोजनाको लागि बिहीबार सो सम्झौता भएको हो ।
अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार जापानले उक्त आयोजनाका लागि दुई अर्ब ८५ करोड ३० लाख जापानी येन (करिब दुई अर्ब ७३ करोड रुपैयाँ) बराबरको अनुदान सहायता नेपाललाई उपलब्ध गराएको छ ।
यस आयोजनाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावर तथा प्रशासनिक एवं सुविधा भवनहरूको निर्माण गरिने छ । यसले हवाई ट्राफिक नियन्त्रण सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
उक्त आयोजना संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत कार्यान्वयन गरिने अर्थ मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
अनुदान सहायतासँग सम्बन्धित ‘एम्सचेन्ज अफ नोट्स’मा अर्थसचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन् ।
त्यस्तै, अनुदान सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव अमृत लम्साल र जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मचुजाकीले हस्ताक्षर गरेका छन् ।
नेपाल–जापान सहकार्यअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक नियन्त्रण सेवामा थप सुधार ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले हवाई सुरक्षामा सुधार ल्याउने विश्वास लिइएको छ ।





























