skip this prime bank skip

कालोबजारी र मूल्यवृद्धि रोक्न साल्ट ट्रेडिङ कर्पोरेसनको सुपथ मूल्य पसल

काठमाडौं । नजिकिँदै गरेको वडादशैं,तिहार र छठ पर्वको समयमा हुनसक्ने अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्दै आम उपभोक्तालाई सहज र सस्तो मूल्यमा गुणस्तरीय खाद्यान्न र दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले काठमाडौं उपत्यका सहित देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

दैनिक उपभोग्य खाद्य सामग्री सहुलियत, सहज र सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउनु नै कर्पोरेसनको प्रमुख उदेश्य र लक्ष्य रहेको कर्पोरेसनका सूचना अधिकारी मोहन थापाले बताएका छन।

काठमाडौं उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका विभिन्न जिल्लाहरू गरी देशभर जम्मा ४१ स्थानबाट उपभोक्तालाई सहुलियत मूल्यमा नुन, चिनी, गेडागुडी,दाल, तेल,चामल,चिउरा,मैदा,आटा,चियापत्ति लगायतका खाद्यान्न बिक्री वितरण भइरहेको छ ।

कर्पोरेसनका सुपथ मूल्य पसलमा नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, दाल, तेल, चिउरा र मैदामा ७ रुपैयाँ छुटको व्यवस्था रहेको पनि सूचना अधिकारी थापाले जानकारी दिएका छन । यद्यपि नुन र चिनी पनि प्रति परिवार ६र६ केजी मात्र उपलब्ध गराउदै आएको छ ।

साल्ट ट्रेडिङले भविष्यमा पूर्वका सामानहरू पश्चिम र दुर्गम जिल्लातिर बिक्री गर्ने र दुर्गमका सामानहरू काठमाडौं उपत्यका,तराई मधेस र पुर्वी क्षेत्रहरूमा लगेर बेच्ने योजना बनाएको छ । बजारमा चिनीको अभाव भएको अवस्थामा कर्पोरेसनले बजार नियन्त्रणका लागि चिनीको आपूर्ति गरि बजारमा सहज र बनाउदै आएको छ।

कर्पोरेसनले चिनी आपूर्ति गरेपछि अहिले चिनीको आपूर्ति ठिक रहेको थापा बताएका छन । यद्यपि बजारमा भने चिनी अभाव भएको भन्दै मूल्य आकाशिएको छ ।
इन्डियाले नेपाललाई चिनी दिन नसक्दा बिचमा अभाव जस्तो भएको थियो तर अहिले भने सहज भएको छ । बजार नियन्त्रणको हिसाबले ठिक छ ।

अनुगमन गर्ने जिम्मा सरकारको हो, सरकारले कर्पोरेसनसँग पनि डाटा लिइरहेको छ र अनुगमन पनि गरिरहेको देखिन्छ ।

सुपथ मूल्य पसलहरू सार्वजनिक बिदा तथा शनिबारका दिन समेत बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म खुला रहने कर्पोरेसनले जनाएको छ। बिक्री केन्द्रहरूको विस्तृत ठेगाना र विवरण साल्ट ट्रेडिङको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालको आधिकारिक पेजमा राखिएको छ।