काठमाडौं । प्रभु बैंक लिमिटेडले वैदेशिक रोजगारी तथा विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै “प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४” सार्वजनिक गरेको छ।
प्रवासी नेपालीलाई स्वदेशमा घर तथा जग्गा खरिदका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक वित्तीय पहुँच पुर्याउने उद्देश्यले बैंकले यो विशेष कर्जा योजना ल्याएको हो।
यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम ३ करोडसम्म घर कर्जा प्राप्त गर्न सक्नेछन्। जसको भुक्तानी अवधि अधिकतम २५ वर्षसम्म रहनेछ।
बैंकका अनुसार यो कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत कायम गरिएको छ भने ब्याजदर औसत आधार दरमा वार्षिक ०.५० प्रतिशत मात्र थप गरी उपलब्ध गराइनेछ। यो सुविधा बैंकको देशभर रहेका ३०० वटै शाखाहरूमार्फत लिन सकिने बैंकले जनाएको छ ।
यस योजनामार्फत ग्राहकहरूले नयाँ घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, मर्मत तथा घडेरी (जग्गा) खरिदका लागि सरल प्रक्रियाबाट कर्जा प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार थप सुविधाहरू:
- घर कर्जा लिने ग्राहकका बढीमा २ जना सन्तानलाई नेपाल वा विदेशमा उच्च शिक्षा अध्ययनका लागि औसत आधार दरमा १ प्रतिशत मात्र थप गरी सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराइने,
- शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट,
- पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा ।
नेपाल भित्रिने रेमिट्यान्सलाई औपचारिक बैंकिङ प्रणालीमार्फत परिचालन गर्दै प्रवासी नेपालीको पारिवारिक भविष्य सुरक्षित गर्न र उत्पादनशील क्षेत्रमा लगानी बढाउन यो योजनाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।






























