घरजग्गाको कारोबार बढ्यो 

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबार बढेको छ । अघिल्लो आवमा यस्तो कारोबार सङ्ख्या १.८४ प्रतिशतले घटेकामा आर्थिक वर्ष २०८२/८३ मा ४.७४ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखतपारित अन्तर्गतको कारोबार सङ्ख्या १२.२८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार सङ्ख्या १५.४५ प्रतिशतले बढेको थियो ।

लिखतपारित अन्तर्गतको राजीनामा कारोबारको सङ्ख्या अघिल्लो आवको चौथो त्रैमासमा ८.१५ प्रतिशतले बढेकामा समीक्षा अवधिमा २२.८८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको २.९८ प्रतिशतले घटेको तुलनामा समीक्षा अवधिमा १५.४१ प्रतिशतले बढेको छ । जस अनुसार आर्थिक वर्ष २०८२/८३ मा सात खर्ब २० अर्ब ८६ करोड रुपियाँ बराबरको घरजग्गा कारोबार भएको छ ।

अघिल्लो आर्थिक वर्षमा त्यस्तो कारोबार तीन खर्ब ८६ अर्ब १५ करोड रुपियाँको थियो । त्यसबापत समीक्षा अवधिमा राजस्व ४८.२६ प्रतिशतले बढेकोे छ । अघिल्लो आवको चौथो त्रैमासमा यस्तो राजस्व २३.४५ प्रतिशतले बढेको थियो ।

यी कारोबारबाट पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ जुन अघिल्लो आवको सोही अवधिमा यस्तो २९.९८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा घरजग्गा क्षेत्रमा प्रवाह भएको बैङ्क कर्जा पनि विस्तार भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आवासीय घरजग्गा कर्जासहित त्यस्तो कर्जा ६.९३ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो ।

प्रादेशिकस्तर घरजग्गाको कारोबार सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा धेरै (६९.३८ प्रतिशत) ले बढेको छ भने मधेश प्रदेशमा ३.४४ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा यस्तो कारोबार सङ्ख्या बढेको छ ।

समीक्षा अवधिमा सात वटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आवको सोही अवधिको तुलनामा बढेको छ । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै १७५.३३ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम ३१.९८ प्रतिशतले कारोबारको कुल मूल्य बढेको छ ।

महानगरपालिकास्तरमा काठमाडौँ महानगरपालिकामा कारोबारको सङ्ख्या सबैभन्दा धेरै १५५.७४ प्रतिशतले बढेको छ । त्यसपछि क्रमशः ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगन्ज महानगरपालिकामा २९.१९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल सबै महानगरपालिकामा अघिल्लो आवको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै २०८.२२ प्रतिशत र वीरगन्ज महानगरपालिकामा सबैभन्दा कम १३.३१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा घरजग्गा कारोबारको कुल मूल्य सबै महानगरपालिकामा अघिल्लो आवको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौँ महानगरपालिकामा सबैभन्दा धेरै २१७.४० प्रतिशत रहेको छ ।

उपमहानगरपालिकामध्ये कलैया उपमहानगरपालिकाबाहेक सबैमा घरजग्गा कारोबारको सङ्ख्या बढेको छ । सबैभन्दा धेरै धनगढी उपमहानगरपालिकामा ७३.१६ प्रतिशतले बढेको छ भने कलैया उपमहानगरपालिकामा कारोबार सङ्ख्या स्थिर छ ।

समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल सबै उपमहानगरपालिकामा बढेको छ । हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै १०४.१६ प्रतिशतले बढेको छ ।