आरोग्य पर्यटन प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपालको आरोग्य पर्यटन प्रवर्द्धनका लागि ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र ‘नेपाल इन बिजनेस (एनआइबी)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा तयार गरी लागू गरिएको राष्ट्रिय आरोग्य पर्यटन कार्ययोजना (सन् २०२६ देखि २०३० सम्म)ले पहिचान गरेका रणनीतिक आरोग्य गन्तव्यहरूमध्ये उच्च हिमाली क्षेत्र अन्तर्गत पदयात्रा गन्तव्यमा आरोग्य पदयात्रा परिपथको विकास, प्याकेजिङ तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आइतबार उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा टानका अध्यक्ष सागर पाण्डे र (एनआइबी)का टिम लिडर रतिश बस्न्यातले हस्ताक्षर गर्नुभएको हो । बेलायतको अन्तरराष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा दाई ग्लोबल युकेद्वारा सञ्चालित एनआइबीले राष्ट्रिय आरोग्य पर्यटन रणनीति निर्माण गर्न तथा सोको कार्यान्वयनका लागि नेपाल सरकार र व्यवसायीसँग सहकार्य गरी काम गर्दै आइरहेको छ ।

नेपाललाई उत्कृष्ट अन्तरराष्ट्रिय आरोग्य गन्तव्यका रुपमा स्थपित गर्ने महत्वकाङ्क्षी लक्ष्यअनुरुप नेपाल सरकारको अग्रसरतामा संयुक्त राष्ट्रसङ्घले १५ अप्रिललाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरिसकेको छ भने नेपाल सरकारले आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत सन् २०२७ लाई नेपाल आरोग्य वर्षका रूपमा मनाउने अभियानको घोषणा गरिसकेको छ ।

समझदारीपत्रबमोजिम राउन्ड अन्नपूर्ण पदयात्रा परिपथलाई आरोग्य पदयात्रा परिपथका रूपमा ब्रान्डिङ र प्याकेजिङ गरी प्रवर्द्धन गरिनेछ । जस अन्तर्गत अन्नपूर्ण पदयात्रा परिपथमा रहेका आरोग्य पर्यटनका चारवटा मुख्य वस्तु तथा सेवा जस्तै, योग तथा ध्यान, आध्यात्मिक तथा प्राकृतिक उपचार, आयुर्वेद तथा सोवा रिग्पा र स्पा तथा मसाजलगायतका स्रोतको सूची तयार गरी सम्भाव्य आरोग्य उत्पादन तथा क्रियाकलापको पहिचान गरी ब्रान्डिङ गरिने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईँले जानकारी दिनुभयो ।

गन्तव्य, क्षेत्रीय तथा राष्ट्रियस्तरका सरोकारवाला निकायबाट सुझाव लिई सकेपछि एजेन्सी, गाइड तथा आरोग्य सेवा प्रदायी संस्थाका प्रतिनिधिलाई आरोग्य पदयात्रा परिपथका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२७ को सुरुबाटै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारहरूलाई लक्षित गरी प्रवर्द्धन र बजारीकरणका कार्यक्रम सञ्चालन गरिने टानले जनाएको छ ।

अन्नपूर्ण आरोग्य पदयात्रा परिपथको सफल सिकाइका आधारमा देशका अन्य पहाडी र हिमाली गन्तव्य जस्तै, लिमी उपत्यका, रारा, डोल्पा, मनास्लु, लाङटाङ, हेलम्बु, लप्ची, रोल्वालिङ, खुम्बु, खेमपालुङ (अरुण), कञ्चनजङ्घालगायतका गन्तव्यमा पनि क्रमशः आरोग्य पदयात्रा परिपथहरू, उत्पादनहरू र क्रियाकलाप पहिचान, विकास र प्रवर्द्धन गर्दै लैजाने सिइओ सेढाईँले बताउनुभयो ।

समझदारीपत्र आदानप्रदान कार्यक्रममा टानका महासचिव सोनाम ग्याल्जेन शेर्पा, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सेढाईँ, एनआइबीका सेक्टर विज्ञ कञ्चन गुरुङलगायतको उपस्थिति थियो ।