काठमाडौँ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार देशका विभिन्न भू–भागमा मेघ गर्जनसहित ठुलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेशबाहेकका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा ठुलो वर्षाको सम्भावना रहेको जनाएको हो ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठुलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, कटान तथा डुबानको जोखिम उच्च रहने छ ।
यस्तो परिस्थितिमा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । आकस्मिक बाढी आउन सक्ने खोला तथा नदीआसपासका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।
त्यस्तै डुबानको सम्भावना भएका क्षेत्रका नागरिकलाई उच्च तथा सुरक्षित स्थानमा सर्न, परिवार र छिमेकीलाई समयमै जानकारी दिन तथा आवश्यक परे सुरक्षित आश्रय स्थलमा जान प्राधिकरणले सुझाव दिएको छ ।
विपत् प्रतिकार्यका लागि तिनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
यसै गरी पूर्वतयारी, पूर्वकार्य तथा प्रतिकार्यमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपत् व्यवस्थापन समितिसँग समन्वय गरी सतर्क अवस्थामा रहन भनिएको छ ।
प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न तथा विपत्का बेला सहायता आवश्यक परे ११४९, नेपाल प्रहरी को १०० तथा सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा सुरक्षित राख्न आग्रह गरेको छ ।
प्राधिकरणले नागरिकलाई जल तथा मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, चेतावनी र सूचना नियमित रूपमा अनुसरण गर्नसमेत अनुरोध गरेको छ ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढ्न सक्ने भएकाले समयमै सतर्कता अपनाउनु नै सम्भावित जनधनको क्षति न्यूनीकरण गर्ने प्रभावकारी उपाय हुने विज्ञहरूले बताएका छन् ।






























