काठमाडौं । एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६,४७६ मिटर / २१,२४७ फिट) सफलतापूर्वक आरोहण गरेका छन् ।
यो उपलब्धिले व्यक्तिगत साहस र दृढताको उदाहरण प्रस्तुत गर्नुका साथै नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा पुनः चिनाएको छ ।
उनको हिमाल यात्रा बैशाख २०८३ देखि काठमाडौंबाट लुक्लातर्फ प्रस्थानसँगै सुरु भएको थियो । त्यसपछि हिमाली बस्ती, दुर्गम पदमार्ग, हिमनदी र उच्च हिमाली भूभाग पार गर्दैे बैशाख ११ मा बिहान करिब ६ः४५ बजे मेरा पिकको शिखरमा पुग्न सफल भएका थिए ।
एभरेस्ट क्षेत्रको महालंगुर हिमशृंखलामा पर्ने मेरा पिक विश्वका चर्चित ट्रेकिङ शिखरमध्ये एक मानिन्छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु र छो ओयू हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
प्राकृतिक सौन्दर्य, साहसिक अनुभव र हिमाली संस्कृतिको अनुपम संगमका कारण मेरा पिक स्वदेशी तथा विदेशी आरोहीमाझ लोकप्रिय गन्तव्य बनेको छ ।
राजीव जैनले यो आरोहण अनुभवी पर्वतीय मार्गदर्शक तथा ‘लामा वाक्स’का राजेश लामाको नेतृत्वमा सम्पन्न गरेका छन् । हिमाली पदयात्रा तथा पर्वतारोहण क्षेत्रमा लामो अनुभव हासिल गरेका लामा नेपालका विभिन्न हिमाली रुटमा साहसिक अभियान सञ्चालन गर्दै आएका छन् ।
५० वर्षका शाकाहारी जैन उच्च हिमाली क्षेत्रमा आवश्यक शारीरिक तथा मानसिक तयारी, अनुशासन र आत्मविश्वास भए कठिन आरोहण पनि सम्भव हुन्छ भन्ने सन्देश उनले आफ्नो सफलतामार्फत दिएका छन् ।
यो अभियान केवल व्यक्तिगत उपलब्धिमा सीमित नभई नेपालको पर्यटन क्षेत्रका लागि पनि सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
हिमाल, संस्कृति, स्थानीय आतिथ्यता र साहसिक अनुभवको अनुपम संयोजनले नेपाललाई विश्वकै उत्कृष्ट ट्रेकिङ तथा पर्वतारोहण गन्तव्य बनाइरहेको सन्देश यस यात्राले पुनः उजागर गरेको छ ।































