अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन सक्ने

काठमाडौँ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ का निम्ति ठुलो तनाव खेप्नु परेको विगत छ । वर्तमान सरकारले त्यसमा व्यापक सरलीकरण गरेको छ । अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । एनओसी विद्यार्थी आफैँले प्रिन्ट गरेर लिन सक्ने गरी सहजीकरण गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय (केयु) बिच एपिआई गर्ने कार्य सम्पन्न गरेको हो ।

उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयुसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्ने छन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

दुवै विश्वविद्यालयसँग अन्तरआबद्धता हुनुभन्दा अगाडि आवेदकले आवेदन दिइसकेपछि, आवेदकले राखेको नागरिकताको विवरण गृह मन्त्रालयसँग अन्तरआबद्धता भएको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’ (सिआइएमएस) मा भेटिएको अवस्थामा र आवेदकले राखेको एनइबीको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणका आधारमा एनइबीसँग अन्तरआबद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिएमा आवेदक विवरण रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने भएको छ ।

तर फेसलेस बनाउँदा आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदनमा विश्वविद्यालयको सर्टिफिकेट राख्नुपर्ने र विश्वविद्यालयका प्रणालीसँग अन्तरआबद्धता नभएकाले आवेदक सर्टिफिकेट विवरण रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था रहेको थियो ।

महालेखा नियन्त्रणको कार्यालयको ‘रेभिन्यु इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग अन्तरआबद्धता भएकाले एनओसीको राजस्व पूर्ण रूपमा अनलाइन मार्फत लिइएको छ ।

एप्रुभ भएको एनओसी सर्टिफिकेट आवेदकले आफ्नै प्रोफाइलबाट पेपरलेस डाउनलोड गर्न सक्ने छन् । सर्टिफिकेटमा क्युआर कोड भएकाले क्युआर स्क्यानरबाट हेर्न सकिने छ ।

त्रिवि र केयुसँग अन्तर आबद्धता भएपछि आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदकले आवेदनमा राखेको विश्वविद्यालयको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणका आधारमा त्रिवि र केयुसँग फेसलेस अन्तर आबद्धता भएको सिस्टमबाट प्रमाणपत्रका विवरण देखिने र आवेदक सर्टिफिकेट विवरण रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने एनओसी शाखाले जनाएको छ ।