Untitled

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज फागुन २६ गते मंगलबार अन्तिम दिन रहेको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि फागुन १७ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। सामान्यतया आईपीओ कम्तीमा चार कार्यदिन खुला राख्नुपर्ने व्यवस्था भए पनि बीचमा परेका सार्वजनिक बिदाका कारण आवेदन अवधि लम्ब्याइएको हो।

यस आईपीओ अन्तर्गत कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६ सय कित्ता सेयर निष्काशन गरेको छ। यसमध्ये ४४ हजार ४ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। उक्त आईपीओको बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत पुस १६ गते आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।

शिखर पावर डेभलपमेन्टले बाग्लुङ जिल्लामा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ।