आन्तरिक र अन्तराष्ट्रिय उडान सुचारु, पर्यटन बोर्डको नि:शुल्क शटल बस

काठमाडौं । देशभर उत्साहका साथ मतदान भइरहेको समयमा पनि देशभरका सबै विमानस्थल सञ्चालनमा रहेका छन् । सडक यायातात ठप्प भए पनि सरकारले हवाई यातायात सञ्चालन गर्न दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु नियमित तालिका अनुसार नै सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ खाडी देशका गन्तव्यमा हुने उडान भने रद्द हुँदै आएका छन् । मध्यपूर्वमा द्वन्द्व बढेपछि उडान रद्द भएका हुन् ।

आन्तरिकतर्फ झापा, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायतका गन्तव्यमा बिहानैदेखि उडान भइरहेको छ । अन्तर्राष्ट्रियमा पनि एयर इण्डिया, इन्डिगो एयर, सिचुआन, श्रीलंकलन एयर, टर्किस एयर, थाई एयर, नेपाल एयरलायन्स आदिले उडान गरिरहेका छन् ।

हवाई उडान सुचारु भए पनि विमानस्थलसम्म पुग्न भने यात्रुहरुलाई सकस भइरहेको छ । सार्वजनिक यातायात नचल्दा यात्रुहरु विमानस्थल पुग्नका लागि कष्ट झेलिरहेका छन् । यात्रुहरु सुटकेस गुडाउँदै सडकमा हिँडिरहेका देख्न सकिन्छ ।

यसैबीच, निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निःशुल्क शटल बस सेवा सञ्चालन गरेको छ ।

बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म शटल बस सेवा उपलब्ध गराइएको छ । उक्त सेवा बिहान ५ बजेदेखि सुरु गरिएको छ भने बिहीबार साँझ ७ बजेसम्म सञ्चालन हुनेछन् ।

निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई मध्यनजर गर्दै पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउन सेवा सञ्चालन गरिएको बोर्डले जनाएको छ । शटल बस सेवा तोकिएका मार्गमार्फत नियमित रूपमा आवतजावत गर्नेछन् ।

पहिलो मार्गअन्तर्गत नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटल, नयाँबजार, शंकर होटल, र्‍याडिसन, दरबारमार्ग, याक एन्ड यति, नागपोखरी, गौशाला हुँदै द्वारिका होटलमार्फत विमानस्थलसम्म सेवा सञ्चालन हुनेछ। यस मार्गको समन्वय रामबहादुर नगरकोटीले गर्नेछन् भने बा १ प १३७८ नम्बरको जसमार्फत सेवा उपलब्ध छ ।

दोस्रो मार्ग महाराजगञ्ज चोक, नारायणथान, धुम्बाराहीस्थित रामाडा होटल, चाबहिल, बौद्धस्थित हायात रीजेन्सी, जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म सञ्चालन हुनेछ । यस मार्गका सम्पर्क व्यक्ति पवन गिरी रहेका छन् र बा १ प १३२० नम्बरको बस सञ्चालन गरिएको छ ।

तेस्रो मार्ग कुपण्डोल, हिमालयन होटल, त्रिपुरेश्वर, कलंकी, सोल्टी, एकान्तकुना, सातदोबाटो, ग्वार्कोस्थित रोयल टुलिप, तीनकुने, नयाँ बानेश्वर हुँदै एभरेष्ट होटलमार्फत विमानस्थलसम्म सञ्चालन गरिनेछ । यस मार्गको समन्वय सुरज खड्गुले गर्नेछन् भने बा १ प १०८१ नम्बरको बस सञ्चालन गरिएको बोर्डले जनाएको छ।