skip this prime bank skip

आज माघ १८ गतेबाट सूर्यकुण्ड हाइड्रोको आइपीओ बिक्री खुला

काठमाडौं ।आज माघ १८ गतेदेखि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आइतबारबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ।

सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।