सानिमा बैंकको कात्तिक २ गते वार्षिक साधारणसभा

काठमाडौं । सानिमा बैंकले आफ्नो २१ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ प्रस्तावित नगद लाभांश पारित गर्नेछ। जसअनुसार बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७.३६८५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्नेछ।

साधारणले १०० रुपैयाँ अंकित दरका कुल २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। यो अग्राधिकार शेयरको वार्षिक प्रतिफल ८.२५ प्रतिशत रहेको छ।

यसैगरी साधारण सभाले बैंकको अधिकृत पुँजी २० अर्बलाई बढाएर २२ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ। सोही बमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सिभाले अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव साधारण सभाले पारित गर्नेछ।

साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।