काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ ।
यसअघि आज (असोज २ गते) सम्म आवेदन दिन पाउने भनिएको थियो । १ गते सार्वजनिक बिदा परेकाले असोज ५ गतेसम्मका लागि म्याद थप भएको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपियाँबराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने ४३ हजार ५ सय ६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । त्यस्तै कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता माग गर्दै आवेदन दिन सक्नेछन् । यो शेयर १ लाख १९ हजार ६४ जनाले १०–१० कित्ताका दरले पाउनेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।