झापा इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ भदौ २० गतेदेखि निष्कासन गर्ने

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो ।

कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ ।

त्यसैगरी कम्पनीले २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोष र ११ हजार ४०६ कित्ता शेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ ।

यो शेयरमा लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि भदौ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा असोज ३ गतेसम्मका लागि म्याद थपिनेछ ।

तर पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या हेर्दा तोकिएकै समयमा अत्यधिक आवेदन पर्ने देखिन्छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।