ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी  गर्ने  प्रस्ताव  पारित गर्नका  लागि  कम्पनीले भदौ १४ गते वार्षिक  साधारण सभा आह्वान गरेको छ ।

सो दिन बिहान १०ः३० बजेदेखि ठमेल प्लाजा होटल एण्ड सुइटसको सभाकक्षमा साधारण सभा हुनेछ । जहाँ सर्व साधारणका लागि छुट्याइएको आईपीओ जारी गर्ने प्रस्ताव पेश हुनेछ ।

यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयर आईपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावली संशोधन लगायत कुनै पनि किसिमको फेरबदल, संशोधन एवं थपघट सम्बन्धी कुनै निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न संचालक समिति वा सञ्चालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि भदौ ६ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।  भदौ ५ गतेसम्म कायम शेयरधनीले सो साधारण सभामा भाग लिन पाउने छन् ।