नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले साउन ३० गतेदेखि ‘एनआई ३१’ निष्कासन गर्ने

काठमाडौं । साउन ३० गतेदेखि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ निष्कासन गर्ने भएको छ।

यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १ करोड ५० लाख इकाई निष्कासनमा ल्याउन नेपाल धितोपत्र बोर्डले साउन ८ गते अनुमति दिएको थियो।

जसमध्ये ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक समेत रहेको नबिल इन्भेष्टमेण्टलाई सुरक्षित गरी बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १०० इकाईका लागि र बढीमा २५ लाख इकाईसम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा भदौ ३ गते हुनेछ तर पर्याप्त आवेदन नपरेमा भदौ १३ गतेसम्म लम्बिनेछ।

उक्त अवधिसम्म कम्तीमा ७५ लाख इकाईका लागि आवेदन परेमा इकाई बाँडफाँड गर्न सकिनेछ तर आवेदन नपरेमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।