रिभर फल्स पावरले आफ्ना सञ्चालक र आधारभूत शेयरधनीलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह

काठमाडौं । रिभर फल्स पावरले आफ्ना सञ्चालक र आधारभूत शेयरधनीलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

कम्पनी सञ्चालक समितिको साउन १३ गते बसेको बैठकले सञ्चालक लगायत आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आउँदो साउन २७ गते बैंकिङ समयसम्मको समयसीमा निर्धारण गरेको छ।

तोकिएको अवधिभित्र सञ्चालकलगायत आधारभूत शेयरधनीहरुले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयरबापतको प्रतिशेयर १०० रुपैयाँका दरले रकम जम्मा गर्न बैंक खाता विवरणका लागि कम्पनीमा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ।

यो अवधिभित्र कुनै सञ्चालकलगायत आधारभूत शेयरधनीबाट हकप्रद शेयरका लागि आवेदनसहितको रकम प्राप्त नभएमा नियमानुसार गरिने कम्पनीले स्पष्ट पारेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशतले हुन आउने ७० करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ।

सर्वसाधारण शेयरधनीका लागि हकप्रद शेयर आवेदन खुला गर्नुपूर्व धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम कम्पनीका सञ्चालक लगायत आधारभूत शेयरधनी (चुक्तापुँजीको १ प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने) ले आफूले लिनुपर्ने हकप्रद शेयरबापतको रकम बुझाउनुपर्ने प्रावधान रहेको छ।