छ्याङ्दी हाइड्रोपावरले अवितरित हकप्रद लिलाम मार्फत बिक्रीमा ल्याउँदै

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले जेठ २३ गतेदेखि असार २७ गतेसम्म १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपियाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

बिक्री अवधिभर ३५ लाख १० हजार ९४३ कित्ताका लागि जेठ १ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन दिएका थिए । बाँकी बिक्री हुन नसकेको २ लाख ९८ हजार ८३२ कित्ता शेयर कम्पनीले लिलाम बढाबढमार्फत बिक्रीमा ल्याउन लागेको हो ।

प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयरमा जोकोही इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले प्रतिकित्ता के कति रेटमा खरिद गर्ने हो सोको विवरण खुलाई साउन २१ गतेभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।

शेयर खरिदका लागि बोलकबोल पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १०० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंका साथै ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज्, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरमा पाइनेछ भने सोही स्थानमा बुझाउन सकिनेछ ।