यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने

काठमाडौँ । नेपाल जनप्रशासन सङ्घले यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ । न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्‍याउनु भएको योगादनस्वरूप श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यही असार २६ गते आयोजना गरिने विशेष समारोहमा सो पुरस्कार समर्पण गरिने सङ्घका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिनुभयो ।

सो पुरस्कारको राशि रु. दुई लाख रहेको छ । कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै श्रेष्ठ मुलुकको २५औँ प्रधानन्यायाधीश बन्नुभएको थियो ।

सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा श्रेष्ठका विचार, अडान र फैसलाको ऐतिहासिक भूमिका लगायतको विशिष्ट योगदानको कदर स्वरूप उहाँलाई यो सम्मान प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले उक्त उहाँको नाम सिफारिस गरेको हो ।

छनोट समितिमा सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्वसहसचिव जीवराज कोइराला सदस्य तथा सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा आमन्त्रित सदस्य रहनुभएको थियो ।

ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा दिनुभएको योगदनाको कदर गर्दै २०७५ सालमा सो सम्मान स्थापना गरिएको हो ।

सङ्घले  सार्वजनिक  प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्‍याउनु हुने व्यक्ति वा संस्थालाई बर्सेनि हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ ।

सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशङ्कर लाल दास र डा. भेषबहादुर थापा सम्मानित भइसक्नुभएको छ ।