ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत

ललितपुर । ललितपुर महानगरपालिकाले चालू आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ।

महानगरका सूचना अधिकारी देव गुरागाईंका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ २ अर्ब ७ करोड बजेट मात्रै खर्च गर्न सफल भएको हो ।महानगरको वार्षिक पुँजीगत बजेट ५ अर्ब १९ करोड ३५ लाखको ४० प्रतिशत हो ।

गत असारमा कूल बजेट ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार पारित भएको थियो । बजेटको संशोधन गर्दै २०७९ पुसमा सम्पन्न दोस्रो नगर सभाले १ अर्ब १५ करोड पूरक बजेट थप गरेको थियो ।

गत असारको नगर सभामा पुँजीगततर्फ ४ अर्ब ८ करोड ७३ लाख ४९ हजार पारित गरेकोमा पुसको नगर सभाबाट १ अर्ब १० करोड ३५ लाख पूरक बजेट थप गरी ५ अर्ब १९ करोड ३५ लाख पुर्‍याइएको सूचना अधिकारी गुरागाईंले जानकारी दिए ।

आन्तरिक आयतर्फ ललितपुरले ८५ प्रतिशत उपलब्धि हासिल गरेको छ । आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुने समेत गरी २ अर्ब ४० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको महानगरले आन्तरिकतर्फ जेठ मसान्तसम्म १ अर्ब १५ करोड संकलन गर्न सफल भएको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार महानगरले यस वर्ष आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुने समेत गरी कूल २ अर्ब ४० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

आन्तरिकतर्फ १ करोड ३५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको हालसम्म उठेको रकम ८५ प्रतिशत हो ।

अघिल्लो आर्थिक वर्षमा २ अर्ब ६७ करोड राजस्व संकलन गरेको महानगरले आन्तरिकतर्फ १ करोड ४५ लाख राजस्व संकलन गरेको थियो ।