काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरूलाई अनिवार्यरुपमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।
महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गर्दै महानगरपालिका क्षेत्रमा सञ्चालित सबै निजी विद्यालयले कक्षा १० सम्मका कक्षाहरूमा कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने जनाएको हो ।
महानगरका अनुसार यो व्यवस्था कार्यान्वयन गराउन पटक पटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलब्ध गराएका छन् । त्यसरी विवरण उपलब्ध गराउने विद्यालयहरूको विवरण पनि महानगरले सार्वजनिक गरेको छ ।
महानगरले रीतपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने निजी विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ ।