काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम ३२ जेठमा आउने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले ३२ जेठमा १५औँ अधिवेशन मिति तोकेको हो ।
कार्यपालिका बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्ताबेज सम्पादन एवम् प्रकाशन कार्यविधि–२०८१’, ‘श्रम बैंक सञ्चालन कार्यविधि–२०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि–२०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ ।
यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका–२०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि(२०८१’ संशोधनसहित पारित भएको महानगरले जनाएको छ ।
बैठकले ६० वर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वेच्छिक अवकाशमा जान चाहने स्वयंसेविकालाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै सहरी योजना आयोगको सदस्यमा इन्जिनियर शैलेन्द्र झा र प्रसुनरत्न बज्राचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ ।