एजेन्सी। अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ ।
उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो ।
यस अगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल भएका थिए । त्यसैले सोमबार ७०औँ सगरमाथा दिवस पनि मनाइएको थियो ।
सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी हुनुभएको थियो । नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।