अमेरिकी राष्ट्रपति ट्रम्प र न्यूयोर्कका मेयर ममदानीबीच भेट

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । न्यूयोर्कमा हालै भएको मेयर चुनावका क्रममा दुवैले एकअर्काको आलोचना गरेका थिए ।

ट्रम्पले मेयरको चुनावअघि मतदातालाई ममदानीलाई मतदान नगर्न आग्रह समेत गर्नुभएको थियो भने ममदानी विजयी भएमा न्यूयोर्कलाई दिइने सङ्घीय बजेट कटौती गर्ने सम्मको चेतावनी दिनुभएको थियो । तर ३४ वर्षीय डेमोक्रेटिक सोसलिस्ट ममदानीले मेयरमा निर्वाचित भएसँगै उहाँको विश्वभर चर्चा भएको थियो ।

ह्वाइट हाउसको बैठकपछि राष्ट्रपति ट्रम्पले ममदानीको प्रशंसा गर्नुभएको छ । पछिल्लो भेटपछि राष्ट्रपति ट्रम्पले आफूले सोचेभन्दा धेरै कुरामा सहमत बनेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

मेयर ममदानीले ‘राम्रो काम’ गर्ने अपेक्षा रहेको पनि ट्रम्पले बताउनुभएको छ । दुवैले न्यूयोर्क शहरबासीको जीवनयापन, अन्य लागतका समस्यालाई सम्बोधन गर्न सँगसँगै काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।