सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्य राखेर आइपीओ बिक्रीमा ल्याउँदै

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असार ३१ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

इन्स्योरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०५ ले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्स लाइफको आइपीओलाई ‘इक्राएनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।