आइएमई लाइफ र अपर लोहरे हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइएमई लाइफ इन्स्योरेन्स र अपर लोहरे हाइड्रोपावर लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले जेठ २३ गते दुवै कम्पनीलाई आइपीओ जारी गर्ने अनुमति दिएको हो ।

आइएमई लाइफ इन्स्योरेन्सलाई प्रिमियममा आइपीओ जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । इन्स्योरेन्सले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको हो ।

यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ । यता, अपर लोहरे हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणको लागि २४ करोड ९८ लाख ४ हजार रुपैयाँको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको हो ।

प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।