काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) सँग मिलेर समावेशी बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । इन्क्लुसिभ इन्स्योरेन्स इन्नोभेशन च्यालेन्ज (आईआईसी) अन्तर्गत एनएलजी इन्स्योरेन्स समावेशी बीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
युएनडिपीले सञ्चालन गर्न लागेको समावेशी बीमा कार्यक्रमका लागि नविनतम् बीमा पोलिसी बनाउने सम्बन्धी प्रतिस्पर्धा गरेको थियो । सो प्रतिस्पर्धामा नेपालका १४ वटै बीमा कम्पनीहरु सहभागी थिए । अन्य १३ वटा कम्पनीलाई पछाडि पार्दै एनएलजी इन्स्योरेन्स कम्पनीले उक्त कार्यक्रम हात पार्न सफल भएको हो ।
कम्पनीले हिजो एक कार्यक्रमका बीच युएनडिपीसँग समावेशी बीमा सेवाका लागि नविन बीमा पोलिसी सम्बन्धी द्धिपक्षीय सम्झौता गरिएको जनाएको छ ।
युनडिपीले सञ्चालन गरेको समावेशी बीमा सम्बन्धी नविनतम् प्रतिस्पर्धामा छानिएको एनएलजी इन्स्योरेन्स कम्पनीले २० हजार अमेरिकी डलरको आर्थिक सहयोग प्याकेज समेत हात पारेको छ । उक्त रकम गरिब जनताको बीचमा समावेशी बीमाको पहुँच पुर्याउने कार्यका लागि नयाँ बीमा पोलिसी जारी गर्नुपर्नेछ ।
एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तले राष्ट्र संघीय अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यले कम्पनीको कार्यक्षमताको बृद्धि र गरिब जनताले बीमा सेवा पाउने गरी काम गर्ने अवसर पाउनु खुशीको बिषय भएको बताए ।
नेपालको गरिब जनताको बीचमा बीमा सेवा पुर्याउने कार्य चुनौतिपूर्ण छ । जटिल भूगोल, बीमा साक्षरताको कमी, ग्रामिण तहसम्म बीमा कम्पनीहरुको उपस्थिति दर्शाउन नसकेका कारण न्यून आय भएका गरिब जनता बीमाको पहुँचभन्दा बाहिर छन् ।
सरकारले अनिवार्य गरेको सीमित बीमा सेवा आम सर्वसाधारणले उपभोग गर्न पाए पनि अधिकांश बीमा सेवा शहरी क्षेत्रमा केन्द्रीत छन् ।