काठमाडौं । नेपाल बिमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।
उक्त व्यवस्थासँगै कतिपय बीमा कम्पनीहरु धमाधम मर्जरमा गए भने अन्यले बैकल्पिक बाटोहरु अबलम्बन गरेका छन । तथापि, बीमा कम्पनीहरुलाई पुँजी पुर्याउने सकस भएको छ । आर्थिक मन्दीले पनि चुक्ता पुँजी थप्न समस्या भएको देखिन्छ।
यो सँगै बीमा प्राधिकरण पुँजी वृद्धिलाई लिएर बारम्बार लचिलो बन्दै आएको छ । सोही अनुरुप प्राधिकरणले रिजर्भ र निश्चित प्रोभिजनलाई पनि चुक्ता पूँजीमा गणना गर्न पाइने गरी बाधा अड्काउ फुकाएको छ ।
यसले बीमा कम्पनीलाई चुक्ता पुँजी वृद्धि गर्न केही सहज भएको देखिन्छ । तथापि, नेप्सेमा सूचीकृत ७ जीवन र ७ निर्जीवन बीमा गरी कुल १४ वटा बीमा कम्पनीले अझै पनि बीमा प्रधिकरणले निर्धारण गरेको चुक्ता पुँजी कायम गर्न सकिरहेका छैनन् ।
अहिले पुँजी वृद्धिका लागि अधिकांश कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् भने केहीले अनुमति पाइसकेका छन् । समग्र हेर्दा, बीमा कम्पनीहरुले अब तोकिएको चुक्ता पुँजी पुर्याउने बाटोतर्फ अग्रसर हुन थालेको देखिन्छ । केही केहीभित्र अधिकांशले तोकिएको चुक्ता पुँजी पुर्याउन सक्ने सम्भावना देखिन्छ ।
७ जीवन बीमा कम्पनीको चुक्ता पुँजी अपुग
नेप्सेमा सूचीकृत ७ जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी अझै बीमा प्राधिकरणले निर्धारण गरिदिएको ५ अर्ब रुपैयाँभन्दा कम रहेको छ । तथापि, बीमा प्राधिकरणले निर्धारण गरेको पुँजी पुर्याउने तयारीमा यी कम्पनीहरु रहेका छन् ।
हाल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ मात्र रहेको छ । बीमा प्राधिकरणले निर्धारण गरेको चुक्ता पुँजी पुर्याउने यस कम्पनीलाई थप ३६ करोड रुपैयाँ आवश्यक रहेको देखिन्छ ।
उक्त आवश्यक रकम बोनस सेयरबाटै पुर्याउने तयारीमा यो कम्पनी रहेको छ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले चुक्तापुँजी पुर्याउने लगानीकर्तालाई करिब ८ प्रतिशत बोनस सेयर वितरण गर्नुपर्ने हुन्छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५ अर्ब चुक्ता पुँजी पुग्न ७० करोड ४० लाख रुपैयाँ आवश्यक पर्छ ।
हाल कायम चुक्ता पुँजीबाट यसले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । उक्त बोनस वितरण पछि अपुग पुँजी पुर्याउन ७ प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी यो कम्पनीले गरेको छ ।
यता, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको हाल कायम चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ। यस बीमा कम्पनीले चुक्ता पुँजीको १८.३८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
साथै, सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितापत्र बोर्डमा आवेदन दिएको छ । उक्त हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुग्नेछ । सिटिजन लाइफ इन्स्योरेन्सको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्न १ अर्ब ६ करोड २५ लाख रुपैयाँ अपुग रहेको देखिन्छ ।
उक्त रकम हकप्रद र बोनस सेयर जारी गरी करिब २८ प्रतिशत निष्कासन गरेर चुक्ता पुँजी पुर्याउने यस कम्पनीले जनाएको छ । त्यस्तै, एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति मागेको छ ।
हाल एसियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँमात्र रहेको छ । उक्त पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । बाँकी अपुग पुँजी बोनस सेयर मार्फत पुर्याउने कम्पनीले जनाएको छ ।
यसैगरि लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ मात्र छ । उक्त पुँजीबाट ८८ प्रतिशत हकप्रद निष्कासन गर्न यस कम्पनीलाई धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ । उक्त हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ ।
७ वटा निर्जीवन बीमा कम्पनीको पनि चुक्ता पुँजी अपुग
नेप्सेमा सूचीकृत १२ मध्ये ७ वटा निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको भन्दा कम रहेको छ । युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रदपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । बाँकी रकमको बोनस सेयर दिएर यस कम्पनीले बीमा प्राधिकरणले निर्धारण गरेको चुक्ता पुँजी पुर्याउने जनाएको छ ।
यस्तै नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ मात्र रहेको छ ।
हकप्रद सेयर बिक्री भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रूपैयाँ माथि पुग्नेछ । सानिमा जीआइसी इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । यस कम्पनीले ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने जनाएको छ । उक्त हकप्रद सेयर जारी गरेपछि यस कम्पनीको चुक्ता पुँजी बीमा प्राधिकरणले निर्धारण गरेअनुसार पुग्नेछ ।
यसैगरि नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँमात्र रहेको छ ।
हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ । बाँकी चुक्ता पुँजी पुर्याउने बोनस सेयर जारी गरिने कम्पनीले जानकारी दिएको छ ।
एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृत पाइसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँमात्र रहेको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । बाँकी बोनस सेयर मार्फत २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउने कम्पनीले जनाएको छ ।
यता, राष्ट्रिय बीमा कम्पनीको पुँजी वृद्धि योजनामा भने अझै स्पष्ट भैसकेको छैन । कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी थप्नुपर्ने हुन्छ । यसको कुल पुँजीमा ३० प्रतिशत सर्वसाधारण समूहको सेयर हिस्सा रहेको छ । बाँकी ४१.०३ प्रतिशत नेपाल सरकार, १९.३७ प्रतिशत कर्मचारी सञ्चय कोष, ९.६० प्रतिशत नेपाल बैंकको स्वामित्व रहेको छ ।
यसबाहेक मेट लाइफ, नेसनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स कम्पनी भारतीय बीमा कम्पनीका नेपालस्थित शाखा कार्यालय मात्रैको हैसियतमा कार्यरत रहेका छन् । यी कम्पनीलाई पुँजी वृद्धिको नीति लागू हुँदैन ।