काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा ११७.३४ प्रतिशतले बढेर ३६ करोड ९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले १६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा वृद्धि भएसँगै नाफा पनि बढेको हो । खुद बिमा शुल्क आर्जन १६४.०६ प्रतिशतले बढेर ७९ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ३० करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी १०६.९३ प्रतिशतले बढेर ३५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।
गत वर्ष २३ रुपैयाँ ६८ पैसा रहेको यसको प्रतिसेयर आम्दानी बढेर २५ रुपैयाँ ७२ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ३६ पैसा छ ।


























