आन्तरिक उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर १६औं योजना बनाउन परिसंघको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले १६ औं योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्न सुझाव दिएको छ ।

परिसंघले १६औं योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययन सहितको प्रतिवेदन आइतबार आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई बुझाएको हो ।

सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले १६औं योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगहरुका लागि जग्गाको सिलिङ तोक्न नहुने उनले बताए ।

साथै, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्धन गरिनुपर्नेमा उनको जोड छ ।

गुणस्तरिय पूर्वाधार विकासका लागि न्यून बोलकबोललाई आधार मानेर आयोजना दिन नहुने, सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गरिनुपर्ने परिसंघले जनाएको छ ।

त्यस्तै, नेपालको निर्यात प्रवर्धन गर्न विभिन्न मुलुकसँग दोहोरो करमुक्ति सम्झौता गर्नुपर्ने, रोजगारमूलक सीप विकासलाई उच्च प्राथमिकतामा राख्न परिसंघले सुझाएको छ ।परिसंघको सुझाव ग्रहण गर्दै आयोगका उपाध्यक्ष डा। श्रेष्ठले १६ औं योजना उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित हुन खोजिएको बताए ।

उत्पादन बढेमात्रै आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन सकिने भएकाले आगामी योजना यसमै केन्द्रित हुने उनको भनाई छ ।

नीति तथा योजना बनाउँदा निजी क्षेत्रको समेत प्रभावकारी सहभागिता खोजिएकाले १६औं योजना तर्जुमा गर्दा नेपाल उद्योग परिसंघले मेहिनेतसँग अध्ययन गरेर दिएको सुझाव महत्वपूर्ण हुने बताए । परिसंघले अध्ययन गरेरै योजना आयोगले माग गरेको ढाँचामा १४ वटा परिच्छेदमा ४९ पृष्ठको विस्तृत सुझाव आयोगसमक्ष पेश गरेको हो ।