वृज सिमेन्टको १ वर्षको व्यापार २ अर्ब १२ करोड

काठमाडौं । वृज सिमेन्ट इन्डष्ट्रिज प्रा.लि.ले सन् २०२३ मा २ अर्ब १२ करोड २० लाख रुपैयाँ व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा १५।०८ प्रतिशत कम हो ।

सन् २०२२ मा यस कम्पनीले २ अर्ब ४९ करोड ९० लाख र सन् २०२१ मा २ अर्ब ९९ करोड ९० लाख आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले गत वर्षको ९ महिनामा १ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

मार्च सन् २००० मा स्थापित वृज सिमेन्ट इन्डष्ट्रिज प्रालि सिमेन्ट उत्पादन र बिक्रीमा संलग्न छ । यसले प्रति दिन १२ सय टनको ग्रान्डिङका लागि लाइसेन्स पाएको छ ।

यस कम्पनीको सेयर ५ व्यक्तिको स्वामित्वमा छ । केडिया अर्गनाइजेसनको ५० प्रतिशत सेयर रहेको छ भने बाँकी भारतको शान्ता सिमेन्ट प्राइभेट लिमिटेडको रहेको छ ।

वृजले २ वटा ब्रान्डामा ओपीसी र ५ ब्रान्डमा पीपीसी सिमेन्ट उत्पादन गर्छ । यसको कारखाना रुपन्देही जिल्लाको गोनाहामा रहेको छ ।

पछिल्लो समय निर्माण कार्यमा देखिएको सुस्तताका कारण सिमेन्ट कम्पनीहरुको व्यापारमा भारी गिरावट देखिएको छ ।

अरु सिमेन्ट कम्पनीहरुको पनि अवस्था लगभग यस्तै छ । यस कम्पनीले ८९ करोड ५३ लाख बैंक कर्जाका लागि रेटिङ गराएको छ ।

जसमध्ये, लङ ट्रम २८ करोड ५४ लाख कर्जाका लागि ‘इक्राएनपी एलबी प्लस’ र सर्ट ट्रम ६० करोड ९९ लाख कर्जाका लागि ‘इक्राएनपी ए’ रेटिङ प्राप्त गरेको छ ।