काठमाडौँ । सरकारले सुनचाँदी, मार्बल र ग्रेनाइट आयातमा लाग्ने भन्सार महसुल तथा दलहन आयातमा लिने अग्रिम आयकरको दर घटाउने निर्णयलाई नेपाल समुद्रपार निकासी पैठारी संघले स्वागत गरको छ ।
यस्तै मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क दर शून्य प्रतिशत कायम गर्ने सरकारको निर्णयले अनधिकृत आयात नियन्त्रणमा सहयोग पुग्ने सङ्घले जनाएको छ ।
सरकारले केही दिनअघि आयातमा लाग्ने भन्सार महसुल सुनको २० बाट १० प्रतिशत, चाँदीको १५ बाट १० प्रतिशत, मार्बलको ३० बाट १० प्रतिशत र ग्रेनाइटको २० बाट १० प्रतिशत बनाएको थियो ।
त्यसै गरी मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क पनि शून्य प्रतिशत कायम गरिएको छ । दलहन आयात गर्दा लिने अग्रिम आयकरलाई १० प्रतिशतबाट घटाएर २.५ प्रतिशत कायम गरेको छ ।
सरकारले सुनचाँदीमा लाग्ने भन्सार दर बढाएकै बेला छिमेकी भारत सरकारले गत साउनमा ल्याएको बजेट मार्फत यी वस्तु आयातमा लाग्ने भन्सार महसुल घटाएर छ प्रतिशत कायम गरेपछि नेपाल र भारतमा सुनको मूल्यमा ठुलो अन्तर आएको थियो ।