अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार (असार २२ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आइपीओमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएकामा २ हजार ३९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म  सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो ।

कुल ६ लाख ५० हजार कित्ता सेयर आइपीओमध्ये १० प्रतिशत अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।